अस्पताललाई थप आर्थिक भार पर्ने माग सम्बोधन गर्न सकिँदैन : प्रबन्ध सञ्चालक डा. कनोडिया
एजुकेशनल एकेडेमी लिमिटेड नेपालगन्ज शिक्षण अस्पताल व्यवस्थापनले थप आर्थिक भार पार्ने स्वास्थ्यकर्मी र कर्मचारीका माग सम्बोधन गर्न नसक्ने जनाएको छ । शिक्षण अस्पतालले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रबन्ध सञ्चालक डा.सुरेशकुमार कनोडियाले यो आर्थिक वर्षमा अस्पताललाई थप आर्थिक भार पार्ने माग सम्बोधन गर्न नसकिने तर आगामी आर्थिक वर्षमा कम्पनीको अवस्थामा सुधार भएमा आपसी सहमतिमा तलबभत्ता बृद्धिका विषयमा निर्णय गर्न सकिने बताए
‘कम्पनीलाई आर्थिक भार पार्ने कुनै पनि माग सम्बोधन गर्न सक्दैनौं’, उनले चेतावनी दिए, ‘जति दिन आन्दोलन हुन्छ । त्यत्ति ढिलो तपाईहरुको पेमेन्टमा ढिलाइ हुन्छ । मैले पटक पटक भन्दै आएको छु ।’ एक दिन अस्पताल बन्द भएमा कम्तीमा पन्ध्रदेखि २० लाख रुपैयाँ अस्पताललाई घाटा हुने भन्दै उनले कर्मचारीको तलबभत्ता अस्पतालको कमाइबाटै भुक्तानी हुने भएकाले आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरे । अस्पतालका सह–निर्देशक डा.नितेशकुमार कनोडियाले नेपाल सरकारको कानुनले अत्यावश्यक सेवा बन्द गर्न नपाउने भएकाले अस्पताल खुलाउन बाध्य भएर प्रशासन गुहार्नुपर्ने बताए ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी तलबभत्ता वृद्धि हुनुपर्ने, दरवन्दी सिर्जना, रात्रिकालीन खाजा भत्ता, औषधि उपचार भत्ता, पदपूर्ति र बढुवा हुनुपर्ने, अवकाश, उपदान, बीमा, सामाजिक सुरक्षा कोषलाई व्यवस्थित र प्रभावकारी गराइनु पर्ने लगायतका मागहरु राखेर २ कार्तिकदेखि आन्दोलनमा छन् ।