गरिबीका कारण औषधी उपचार गराउन नसकेका स्थानीय बासिन्दा लाभावन्तित
नेपालगन्ज २४ पुष : स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामीण क्षेत्रका जनतालाई सहज रुपमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले नेपालगन्ज मेडिकल कलेजले नेपाली सेनाको भैरब प्रसाद गण र लायन्स क्लब खजुरासँग सहकार्य गरेर बाँकेको खजुरामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
गरिबी र पछौटेपनका कारण बिरामी भए पनि उपचार गराउन नसकेका समुदायलाई लक्षित गरेर स्वास्थ्य शिबिर सञ्चालन गरिएको हो ।
शिबिरमा स्त्री तथा प्रसुती, बाल स्बास्थ्य, नाक, कान घाँटी, चर्म तथा यौनरोग, आँखा, तथा हाडजोर्नी लगायत बिभिन्न रोगका बिशेषज्ञ चिकित्सकहरुले बिरामीहरुको चेकजाँच गरेर निःशुल्क औषधीहरु बितरण गरिएको थियो ।
बिशेषज्ञ चिकित्सक सहितका स्बास्थ्यकर्मीको टोली आफ्नै गाउँमा आउने खबर पाएपछि स्वास्थ्य सम्बन्धी परामर्श र उपचारका लागि ठुलो संख्यामा स्थानीय बासिन्दाहरुको स्वास्थ्य शिबिरमा भिड लागेको थियो । गाउँमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिबिरबाट गरिब तथा बिपन्न परिवारका बिरामीहरु लाभावन्तित भएको नेपाली सेनाको भैरब प्रसाद गणका गणपति जनमत कार्कीले बताए ।
शिविरमा उपचारका लागि आएका अधिकांश बिरामीमा स्वास प्रश्वास, दम, आँखा, नाक, छाला र पेट रोग सम्बन्धी समस्या देखिएको छ । शिबिरमा स्त्रीरोग, जनरल मेडिसिन, आँखा र कान, हाडजोर्नी, छाला सम्बन्धी समस्या भएका करिब ८ सय ९६ स्थानीय बासिन्दाहरुले स्बास्थ्य परीक्षण गराएका थिए ।
गरिबी र अभावका कारण बिरामी भए पनि उपचार गराउन नसकेका बिरामीहरुलाई लक्षित गरेर खजुरामा निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरिएको लायन्स क्लब खजुराका अध्यक्ष बिज्ञान कक्षपतिले बताए ।
शिबिरमा आएका बिरामीहरु मध्य जटिल स्वास्थ्य समस्या भएका र शल्यक्रिया गराउन पर्ने २ सय ९५ जना बिरामीहरु नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा २५ प्रतिशत छुट दिएर थप उपचार गर्ने ब्यवस्था मिलाइएको नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डाक्टर नितेश कनोडियाले बताए ।